विदेशी लगानीकर्ताका लागि सहजीकरण गर्न अर्थ मन्त्रालयमा फोकल युनिट स्थापना
काठमाडौँ । विदेशी लगानी प्रवर्द्धनलाई थप प्रभावकारी र समन्वित बनाउन अर्थ मन्त्रालयले नयाँ फोकल युनिट गठन गरेको छ। मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाअन्तर्गत गठन गरिएको उक्त युनिटले विदेशी लगानीकर्ता तथा अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरूसँग प्रत्यक्ष समन्वय गर्ने जिम्मेवारी पाउनेछ।
अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंक प्रसाद पाण्डेयले जारी गरेको सूचनाअनुसार विदेशी लगानीकर्तालाई नेपालमा व्यवसाय सञ्चालनका क्रममा आवश्यक पर्ने सहजीकरण, परामर्श तथा सरकारी निकायबीचको समन्वयलाई यस युनिटले सहज बनाउनेछ। विशेषगरी बैंकिङ, राजस्व तथा लगानीसँग प्रत्यक्ष जोडिएका प्रक्रियामा देखिने जटिलता कम गर्न यो संरचना उपयोगी हुने अपेक्षा गरिएको छ।
यसैगरी, अन्य मन्त्रालय, विभाग तथा निकायसँग विदेशी लगानीसम्बन्धी नीतिगत र कार्यगत समन्वय पनि यही फोकल युनिटमार्फत हुने मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार
















