भारतको श्रीनगर नौगाम प्रहरी चौकीमा विस्फोट, ९ को मृत्यु, २९ घाइते
श्रीनगर । भारतको जम्मू कश्मीरको श्रीनगरको नौगाम प्रहरी चौकीमा शुक्रबार राति ठूलो विस्फोट भएको छ । करिब ११ः२० बजे भएको उक्त विस्फोटमा नौ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।
घाइतेहरु धेरै गम्भीर भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरूले जनाएका छन् । घाइतेमध्ये अधिकांश प्रहरी हुन् । उनीहरूको ९२ आर्मी बेस र एसकेआईएमएस सौरा अस्पतालमा उपचार भइरहेको छ ।
अधिकारीहरूका अनुसार सेतो कलर आतंकवादी मोड्युल प्रकरणमा जफत गरिएका विस्फोटकहरूको नमूना लिइरहेको बेला विस्फोट भएको थियो ।
हरियाणाको फरीदाबादमा पक्राउ परेका डा. मुजम्मिल गनाईको भाडाको घरबाट जफत गरिएको विस्फोटक पदार्थमा विस्फोट भएको थियो । दिल्ली विस्फोटपछि आतंकवादी मोड्युलमा पक्राउ परेका आठ आतंककारीमध्ये गनाई एक हुन् ।
यसअघि नोभेम्बर १० मा दिल्लीको लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर १ नजिकै एउटा आई–२० कार विस्फोट भएको थियो । जसमा १३ जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति: २९ कार्तिक २०८२, शनिबार
















