श्रवण अग्रवाल भन्छन्– कानून अनुसार नागरिकता लिएर रितपूर्वक व्यवसाय गर्दै आएको छु



काठमाडौं । व्यवसायी एवं ठेकेदार श्रवण अग्रवालले आफूले नेपालको प्रचिलित कानून बमोजिम नेपाली नागरिकता प्राप्त गरेको बताएका छन् ।

अनलाइन नेपालमा २०८२ कार्तिक २३ गते आइतबार ‘सशस्त्रको ‘ठेक्का सेटिङ’मा गृहमन्त्री नै गुमराहमा, नागरिकता कीर्ते गर्नेदेखि सिन्डिकेटधारी ठेकेदार नै हाबी’ शिर्षकमा प्रकाशित समाचारप्रति असहमति जनाउँदै उनले आफ्नो नागरिकता नक्कली नभई सक्कली नै भएको उल्लेख गरेका हुन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा चुस्ता, बुट लगायतका बन्दोबस्तीका सामान आपूर्ति गर्दै आएका ठेकेदार अग्रवालले समाचारमा आफ्नो नागरिकताका बारेमा गलत तथ्य आएको बताएका छन् ।

अग्रवालले आफूले नेपाल प्रहरीलगायतका सार्वजनिक निकायहरुमा नियमपूर्वक ठेक्कापट्टा गरिरहेको जनाउँदै नागरिकताका बारेमा लेखिएका कुरा तथ्यहिन र कपोकल्पित भएको बताएका छन् ।

अग्रवालले अनलाइन नेपाललाई पठाएको खण्डन पत्रमा भनिएको छ–‘उपरोक्त सम्बन्धमा २०८२ साल कार्तिक २३ गते म श्रवण कुमार अग्रवालको बारेमा प्रकाशित समाचारका बारेमा मेरो गम्भिर ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छु । सो प्रकाशित समाचारमा मैले नेपाल प्रहरीलगायतका सार्वजनिक निकायहरुमा नियमपूर्वक ठेक्कापट्टा गरिरहेको श्रीमानमा जानकारी गराउँदछु । साथै मेरो नागरिकताको गलत नं. प्रकाशित गरिएकोले मेरो नागरिता बारे लेखेका कुरा तथ्यहिन र कपोकल्पित हुन् । मैले नेपाली नागरिकता नेपालको प्रचिलित कानून बमोजिम प्राप्त गरेको व्यहोरा पनि जानकारी गराउँदछु । तसर्थ मेररो बारेमा लेखिएको कुराको खण्डन प्रकाशित गरिदिनुहुन अनुरोध गर्दछु ।’

प्रकाशित मिति: ४ मंसिर २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्