एनपीएलमा आज दुई खेल, विराटनगरलाई आजको खेल महत्वपूर्ण
काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेलहरू हुँदैछन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्नेछन् भने दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।
सुदूरपश्चिम रोयल्स यसअघि नै ६ खेलबाट १२ अङ्क जोड्दै अपराजित रहन सफल भई शीर्ष स्थानसहित ‘क्वालिफायर १’ मा पुगिसकेको छ ।
आठ अङ्कसहित प्लेअफमा स्थान सुरक्षित गरिसकेको विराटनगरका लागि भने आजको खेलले प्लेअफको समीकरण तय गर्नेछ । यदि विराटनगरले सुदूरपश्चिमलाई राम्रो रनरेटमा पराजित गरेमा उसले सुदूरपश्चिमसँगै ‘क्वालिफायर १’ खेल्ने मौका पाउनेछ ।
पराजित भएको खण्डमा वा रनरेट कम भएमा विराटनगरले लुम्बिनी लायन्ससँग ‘इलिमिनेटर’ खेल्नुपर्नेछ । त्यस्तो अवस्थामा सुदूरपश्चिमले काठमाडौं गोर्खाजसँग पहिलो क्वालिफायर खेल्नेछ ।
उता चितवन र पोखरा भने शीर्ष चारमा पर्न नसक्ने भएपछि प्रतियोगिताबाटै बाहिरइसकेको छन् । उनीहरूका लागि आजको प्रतिष्ठाको लडाइँ मात्र हुनेछ ।
प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार
















