फिस्टेल रेस २०२५ को उपाधि पुरुषतर्फ नेपाल र महिलातर्फ अमेरिकालाई 



पोखरा । पोखराको प्रतिष्ठित ट्रेल रेस ‘फिस्टेल रेस’ २०२५ को म्याराथन (४२ किलोमिटर दौड) मा पुरुषतर्फ नेपाल र महिलातर्फ अमेरिकी नागरिकले उपाधि जितेका छन् । 

‘हिमाल मुनी तालको छेउमा’ भन्ने नाराका साथ हालै आयोजना गरिएको छैटौँ संस्करणको उक्त म्याराथनमा पुरुषतर्फ नेपाली धावक सुमन कुलुङले ३ घण्टा ४७ मिनेट १८ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गदै विजेता हुनुभएको हो । यस्तै महिलातर्फ अमेरिकी नागरिक सोन्या मार्टिनले ५ घण्टा २८ मिनेट ५८ सेकेण्डमा उक्त दुरी पार गदै विजेता हुनुभएको हो ।

पुरुषतर्फ नेपालका मिलन कुलुङ द्वितीय (नेपाल), नेपालका लोकेन्द्र राई तृतीय, नेपालका विजय रानामगर र बेलायतका फिन नर्वुड सान्त्वना हुनुभयो । महिलातर्फ अनिता राई द्वितीय (नेपाल), सोफी मेरी स्टेनजेर (नर्वे) तृतीय, स्याली मोल्ड्स (बेलायत) र समान्था बेकर (बेलायत) सान्त्वना हुन सफल हुनुभयो ।

पोखरा १७ डेभिज फलबाट सुरु भएको म्याराथन, विश्व शान्ति स्तुपः, भुम्दीकोट, ठुला खेत हुँदै कास्की कोटबाट मेथलाङ हुँदै खहरेमा पुगेर समाप्त भएको थियो ।

२१ किलोमिटर हाफ म्याराथन पुरुषतर्फ नेपालका विशाल राई प्रथम हुन सफल हुनुभयो । उहाँले २ घण्टा ११ मिनेट १० सेकेण्डमा उक्त दुरी पार गर्नुभएको हो । नेपालका ऋतु राग रोकाय द्वितीय, अष्ट्रेलियाका ओलिभर रैली तृतीय, नेपालका हरेन्द्रकुमार चौधरी र अमेरिकाका क्लेटन ग्यारो सान्त्वना हुनुभयो ।

२१ किलोमिटर हाफ म्याराथनमा महिलातर्फ अस्ट्रेलियाकी लरेन बर्नहम प्रथम हुनुभयो । उक्त दुरी २ घण्टा ४३ मिनेट ३७ सेकेण्डमा उहाँले पार गर्नुभएको हो । यस्तै न्युजिल्याण्डकी फ्लोरेन्स रेनोल्ड्स द्वितीय, नेपालकी नितु तामाङ तृतीय, डेनमार्क की फ्रेया थोरुप र ब्राजिलकी मारिलिया बोर्जेस सान्त्वना हुनुभयो ।

पुरुष तर्फको ५ किलोमिटर दौडमा पाँचै जना नेपाली धावकले उपाधि जित्न सफल हुनुभयो । नेपालका विष्णु लिम्बु प्रथम हुनुभयो । यहाँले ३२ मिनेट ४३ सेकेण्डमा ५ किलोमिटर दुरी पार गर्नुभएको हो । यस्तै अनुप गुरुङ द्वितीय, सृजना मोक्तान तामाङ तृतीय, नव्या राई र समीर गुरुङ सान्त्वना हुनुभयो ।

महिला तर्फको ५ किलोमिटर दौडमा जर्मनी धावक ग्रेता होफम्यान प्रथम हुनुभयो । उहाँले ४७ मिनेट ४६ सेकेण्डमा उक्त दुरी पार गर्नुभयो । ग्रीसकी भासो थियाकोडिभित्री द्वितीय, ब्राजिलकी आना रामोस तृतीय, डेनमार्ककी इसाबेला मोलर लाउर्सेन र जोसेफिन मोलगार्ड सान्त्वना हुनुभयो ।

फिसटेल रेसका परिकल्पनाकार जगन्ना तिमिल्सिनाले पोखरामा रहेका विश्वकै उत्कृष्ट ट्रेलहरूको अनुभव बाँड्न र पोखरालाई विश्वसामु चिनाउन प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो । तिमिल्सिनाले सन् २०१७ मा कठिन ‘ग्रेन हिमाल रेस’ जित्न सफल हुनुभएको थियो । प्रतियोगितामा २७ देशका करिब ३ सय धावकहरू सहभागी भएको आयोजक हिमालयन ट्रेलले जनाएको छ । 

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्