एनपीएलको फाइनलका लागि आज विराटनगर र लुम्बिनी भिँड्दै
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिँड्दैछन् ।
अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुने यो खेलको विजेताले फाइनलमा सुदूरपश्चिमसँगको भेट पक्का गर्नेछ भने पराजित हुने टोली तेस्रोमै सीमित हुनेछ । पहिलो क्वालिफायर खेलमा बिराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ ।
विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएर दोस्रो मौकामा खेल्न लागेको हो । अर्कोतर्फ लुम्बिनीले भने बुधबार भएको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई हराएर दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
लुम्बिनी र विराटनगर दुवै संस्करणमा गरेर २ पटक खेलेका छन् । दुवैले एक–एक खेल जितेका छन् । गत संस्करण विराटनगर विजयी हुँदा यो संस्करणमा लुम्बिनीले जित निकाल्यो ।
गत संस्करणमा भएको हाइ स्कोरिङ खेलमा लुम्बिनीले १९१ रन डिफेन्ड गर्न सकेको थिएन । १९२ रनको लक्ष्य विराटनगरले १ बल बाँकी छँदा ८ विकेटको क्षतिमा पूरा गरेको थियो ।
यस्तै यो संस्करण लुम्बिनीले विराटनगरमाथि ५ विकेटको जित निकाल्यो । १४५ रनको लक्ष्य लुम्बिनीले १४ बल बाँकी छँदा पूरा गरेको थियो ।
प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार
















