स-परिवारसहित सुटुक्क अमेरिका किन पुगे धुर्मुस ?, फेसबुकमा लेखे लामो स्टाटस



काठमाडौं । कलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ अमेरिका पुगेका छन् । छोरी सुविहानीको जटिल उपचारका लागि उनी केही दिनअघि स–परिवार अमेरिका उडेका हुन् ।

अमेरिका पुगेपछि सामाजिक सञ्जाल मार्फत् धुर्मुसले लामो बकपत्र लेख्दै रंगशाला निर्माणका क्रममा भोगेका पीडा, आर्थिक संकट र आफूहरूलाई पछिल्ला वर्षमा परेकै आरोप–आशंकाप्रति मन खोलेका छन्। उनले छोरीको उपचार अमेरिकामा निःशुल्क हुने सुविधा पाएकाले त्यहाँ पुगेको र उपचारपछि नेपाल फर्किने स्पष्ट उल्लेख गरेका छन्।

धुर्मुसका अनुसार, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा उधारोमा लिइएको निर्माण सामग्रीको १८ करोड ४३ लाख रुपैयाँ बक्यौता अझै भुक्तानी हुन बाँकी छ । भरतपुर महानगरपालिकालाई फाउन्डेसनले ५९ करोड ९० लाख रुपैयाँ बराबरको भौतिक संरचना हस्तान्तरण गरिसके पनि बाँकी दायित्व महानगरले नबुझ्दा आफूहरू ‘अपराधीझैँ’ भइरहेको गुनासो छ।

उनले लेखेका छन्, “राज्यले सम्पत्ति त सजिलै सकार्छ, तर दायित्व स्विकार्दैन। अब हामीसँग रित्तिएको जे छ—त्यो इमान्दारिता र असल नियतप्रतिको भरोसा मात्र हो।”

धुर्मुसले नेपालमा रहँदा नसकिएको थुप्रै आरोप र अफवाहलाई अब भने स्पष्ट बोल्ने समय आएको बताउँदै सम्पूर्ण विचाराधीन केसका लागि फाउन्डेसनका उपाध्यक्षलाई अधिकार प्रत्यायोजन गरेको जानकारी पनि दिएका छन्।

प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्