१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय वीरगन्जमा कार्यरत सर्वेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार, नापी कार्यालय वीरगन्जका सर्वेक्षक राउत र नापी टोली आदर्शनगर पानी ट्याङ्की वीरगन्जमा कार्यरत कार्यालय सहयोगी उपाध्यायले छुट जग्गा दर्ता गर्नका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई १ लाख रुपैयाँ घुस माग गरिरहेको सूचना एवं उजुरीका आधारमा अख्तियारको टोलीले उनीहरूलाई उक्त रकम लिइसकेको अवस्थामा २०८२ मंसिर २ गते नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा सर्वेक्षक राउत र कार्यालय सहयोगी उपाध्यायको आपसी मिलेमतो तथा योजनामा वीरगन्ज महानगरपालिका वडा नं. २५ स्थित कित्ता नं. ५५ को जग्गा छुट जग्गा दर्ता गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग रु. १ लाख रुपैयाँ घुस माग गरी लिएको स्थापित भएको आयोगले जनाएको छ।
अख्तियारले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १ लाख रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरेको सहायक प्रवक्ता गणेश बहादुर अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार
















