आइटीएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा अन्तर्गत सिंगल्सतर्फको फाइनलमा नेपाली खेलाडी शिभाली
पोखरा । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखराको टेनिस कम्प्लेक्समा जारी आइटीएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा सर्किट–२ अन्तर्गत नेपाली खेलाडी शिभाली गुरुङ उत्कृष्ट प्रदर्शन गर्न सफल हुनुभएको छ ।
गर्ल्स सिंगल्सतर्फको फाइनलमा स्थान बनाउनुभएका उहाँले शुक्रबार भएको गर्ल्स डबल्स फाइनलमा ताइपेकी के–चि सुसँगको जोडीमा उपाधि जित्न सफल हुनुभयो । त्यस्तै नेपालकी शिभाली गुरुङले भारतकी कर्थिका पद्मकुमारलाई सङ्घर्षपूर्ण खेलमा ६–३ ५–७ ६–३ ले पराजित गर्दै फाइनलमा प्रवेश गर्नुभएको हो । उनले जारी प्रतियोगिताको सर्किट १ मा समेत उपाधि जित्न सफल हुनुभएको थियो ।
शिभालीले फाइनलमा सर्किट १ कै उपविजेता रहेकी ताइपेकी के–चि सुसँग भेट पक्का गर्नुभयो । के–ची सुले सेमिफाइनलमा भारतकी शतक्शिका सहायकलाई ६–१ ६–४ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्नुभयो । यता ब्वाइज डबल्स फाइनलमा कोरियाली जोडी ह्यो जिन हा र युल हो जुङको जोडीले भारतीय जोडी प्रतीक शेओरन र अनुज अभिजित तशिलदारलाई ६–३ ७–६(४) ले पराजित गर्दै उपाधि जित्नु भयो भने नेपालकी शिभाली गुरुङ र ताइपेईकी के–ची सुको जोडीले फाइनलमा भारतकी तेजस्वी मन्नेनी र न्युजिल्यान्डकी बोइदेही उकिललाई ६–२ ६–१ ले सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल हुनुभयो ।
प्रतियोगिता अन्तर्गत ब्वाइज सिंग्लसमा ताइपेइका टिङ–हो याङले चिनका जियालियाङ गुओलाई ६–२ ६–२ ले पराजित गर्दै फाइनल यात्रा तय गर्दा युल हो जुङ (दक्षिण कोरिया) ले गनुका फर्नान्डो (श्रीलङ्का) लाई ६–३ ६–० ले सहज जित हात पार्दै टिङ हो याङसँग फाइनल भिडन्त पक्का गर्नुभयो ।
सिंगल्सतर्फका फाइनल खेलहरू भोली (शनिबार) हुने कास्की टेनिस संघका सचिव भीष्मराज पौडेलले जानकारी दिनुभयो । दुई सातासम्म लगातार सञ्चालन भएको प्रतियोगितामा १६ देशका ८० खेलाडीहरूको सहभागिता छ ।
प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार
















