ई–७ भिसा मार्फत कोरिया जाने बाटो खुल्यो, दक्ष युवालाई ठूलो राहत
काठमाडौं । गणतन्त्र कोरियामा दक्ष कामदारका रुपमा जानका लागि रोकिएको ई-७ भिसा प्रक्रिया पुनः खुलेको छ ।
विभागले गत भदौ ३१ गते सूचना निकाल्दै ई-७ भिसामार्फत दक्षिण कोरियामा सीपयुक्त कामदार पठाउने कार्यविधि कार्यान्वयन नगर्ने भन्दै रोक लगाएको थियो
त्यसविरुद्ध परेको रिट निवेदनमा उच्च अदालतले रोक लगाउने सूचना कार्यान्वयन नगर्न र नगराउन आदेश जारी गरेको थियो । उच्च अदालत पाटनको उक्त आदेशसँगै विभागले कार्यविधिमा तत्कालका लागि लगाएको रोक आइतबारदेखि पुनः खुल्ला गरेको हो।
अदालतको आदेश जारी भएसँगै कार्यविधि कार्यान्वयनको चरणमा प्रदेश गरेको छ । श्रम मन्त्रालयले ई-७ भिसामार्फत सीपयुक्त कामदार पठाउन ‘दक्षिण कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको थियो ।
मन्त्रालयले कार्यविधि जारी गरेर ई–७ भिसामार्फत कोरियामा सीपयुक्त कामदार पठाउने प्रक्रिया अघि बढेको थियो । श्रम मन्त्रालयले म्यानपावर कम्पनीमार्फत सीपयुक्त कामदार पठाउन पाउनेगरी कार्यविधि जारी गरेको थियो ।
त्यसलगत्तै कोरियास्थित नेपाली दूतावासलाई समेत मागपत्र प्रमाणीकरण गर्न परिपत्र गरिएको थियो । कोरियाले कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत विश्वभरका १७ देशबाट कामदार लैजाने गरेको छ ।
अदालतको यस निर्णयले कोरियामा ई-७ भिसा अन्तर्गत जान तयारी गरिरहेका नेपाली दक्ष युवाहरुलाई ठूलो राहत मिलेको छ ।
प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार
















