जेनजी आन्दोलनमा लुटिएको ग्यासगन खोला किनारमा भेटियो



झापा । झापाको कमल गाउँपालिकामा जेनजी आन्दोलनमा लुटिएको हतियार बेवारिसे अवस्थामा फेला परेको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको ‘ग्यासगन’ आइतबार बिहान गेउरीय खोलाको किनारमा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, आइतबार बिहान साढे ६ बजेको समयमा कमल गाउँपालिका–५ स्थित धन प्रसाद मार्ग नजिकै रहेको गेउरीय खोला किनारमा हतियार रहेको विशेष सूचना प्राप्त भएको थियो ।

सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खानतलासी गरेर हतियार नियन्त्रणमा लिएको हो ।

प्रहरीले २३८१६९ नम्बरको एक थान ग्यासगन फेला पारेको हो । फेला परेको हतियारको बट र नाल जलेको तथा खिया लागेको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अभिलेख अनुसार उक्त हतियार गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले लुटेका थिए । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीबाट आन्दोलनकारीले उक्त ग्यासगन खोसेर लगेका थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ६ पुस २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्