कांग्रेसपछि एमाले पार्टी कार्यालय अनुगमनमा पुग्यो सरकारी टोली
काठमाडौं । सरकारी टोलीले जेनजी आन्दोलनपछि ध्वस्त भएको नेकपा एमालेको च्यासलस्थित कार्यालयको अनुगमन गरेको छ ।
सरकारले राजनीतिक दलसँग संवादका लागि गठित समितिको टोलीले च्यासल पुगेर खण्डहर बनेको एमाले पार्टी कार्यालयको अनुगमन गरेको हो ।
कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्री सुशीला कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले अनुगमन गरेका हुन्।
सरकारी टोलीलाई एमाले महासचिव शंकर पोखरेलले स्वागत गरेका थिए । भेटका क्रममा आगामी निर्वाचनबारे समेत कुरा भएको थियो ।
यसअघि उक्त टोलीले सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयको अनुगमन गरेको थियो ।
त्यस्तै आजै नेकपा माओवादी केन्द्र (हाल नेपाली कम्युनिष्ट पार्टी) को कार्यालय समेत अनुगमन गर्ने तयारी गरिएको छ ।
प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार
















