कोकिन तस्करी गर्ने थाइ महिला पक्राउ, पेटबाट निकालियो ५५० ग्राम कोकिन



काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पेटभित्र कोकिन लुकाएर राखेको अवस्थामा एक विदेशी महिला पक्राउ गरेकी छिन्।

ब्युरोका अनुसार पक्राउ पर्नेमा थाल्याण्डकी नागरिक ४० वर्षीया मिस रुसानी कामा रहेकी छिन्।

लाओसबाट बैंकक हुँदै काठमाडौं आएकी ती महिलाको पेटबाट प्रहरीले २९ वटा कोकिनका क्याप्सुल निकालेको थियो। ब्युरो प्रवक्ता जीवन निरौलाका अनुसार कामा थाइ लायन एयरको उडान मार्फत मंगलबार काठमाडौं अवतरण गरेकी थिइन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा नियमित चेकजाँचका क्रममा उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। चेकजाँच गर्दा झोलाभित्र फल्स बटम बनाएर लुकाइएको अवस्थामा खैरो रंको टेपले बेरिएको १२ वटा क्याप्सुल फेला परेको थियो।

लागूऔषध निलेर ल्याएको हुनसक्ने आशंकामा सिटी स्क्यान गर्दा उनको पेटमा शंकास्पद वस्तु देखिएको थियो। त्यसपछि उनको पेटबाट थप २९ वटा क्याप्सुल निकालिएको ब्युरोले जनाएको छ।

बरामद गरिएको कोकिनको कुल तौल ५५० ग्राम रहेको प्रहरीले पुष्टि गरेको छ। बरामद कोकिनको बजार मूल्य झन्डै १५ करोड रहेको छ। प्रहरीले विदेशी नागरिकलाई हिरासतमा लिएर अनुसन्धान थालेको छ।

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्