नेकपा माओवादी केन्द्रीय समिति विशेष बैठक : कार्की सरकार ढाल्नेदेखि चुनावी रणनीति बनाउनेसम्म



काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार ढाल्न १० दिनको अल्टिमेटम दिएको नेकपा माओवादीको केन्द्रीय समितिको विशेष बैठक बुद्धनगरमा बसेको छ । माओवादीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे ज्ञापन पत्र बुझाउँदै वर्तमान सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गरेको थियो ।

आजको बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा, राष्ट्रियता लगायत विषयमा समीक्षा हुने महासचिव नेत्रविक्रम चन्द विप्लवको सचिवालयले बताएको छ ।

‘जेनजी विद्रोहपछि विशेष राजनीतिलाई ध्यानमा राखेर केन्द्रीय समितिको विशेष बैठक बोलाएको हो । एजेन्डाबारे अहिले नै सार्वजनिक गर्न मिल्दैन’, विप्लवका सचिवालयका नारायण चन्दले भने ।

साथै कार्की सरकार विघटन नभए सडक सङ्घर्षको कार्यक्रम ल्याउने तयारी अनुसार बैठक बसेको सचिवालयको भनाइ छ ।

जेनजी विद्रोहपछि तत्कालीन नेकपाको असोज २५ देखि ३० गतेसम्म केन्द्रीय कार्यालय कपिलवस्तुमा केन्द्रीय समितिको विशेष बैठक बसेको थियो । निर्वाचनमा सहभागी हुने निर्णय गरेको माओवादीले उम्मेदवार छनोट, चुनावी रणनीति लगायत विषयमा छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्