२२ औँ माछापुच्छ्रे बैङ्क पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता सुरु



पोखरा । पोखरामा २२ औँ संस्करणको माछापुच्छ्रे बैङ्क पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैङ्क लिमिटेडका अध्यक्ष रोशन केसीले एक समारोहबीच शुक्रबार टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहमा बोल्दै केसीले पोखराले टेनिस खेलमा पाएको सफलता अन्य खेल संघका लागि पनि अनुकरणीय रहेको बताउनुभयो । पोखरेलीहरूको एकता र साझा प्रयासबाट पोखरा रङ्गशालाभित्र भौतिक विकासमा महत्पूर्ण सफलता पाएको उहाँले जनाउनुभयो । साथै प्रतियोगिताको निरन्तरताका लागि आगामी वर्षहरुमा पनि बैंकले साथ दिने प्रतिबद्धता जनाउनुभयो ।

उद्घाटन समारोहमा आयोजक संघका प्रथम उपाध्यक्ष समेत रहनुभएका प्रतियोगिता संयोजक नवीन चालिसेले प्रतियोगिताका बारेमा प्रकाश पार्नुभएको थियो । महासचिव भीष्मराज पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा बोल्दै संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङले प्रतियोगिता आयोजनामा सहयोग गर्ने सहयोगीदाताहरूप्रति आभार व्यक्त गर्नुभयो ।

यसैबिच प्रतियोगिताको उद्घाटन दिन मेन्स सिङ्गलतर्फ करन बहादुर थापाले शाश्वत बज्राचार्यलाई, सन्दिप विकले प्रफुल्ल श्रेष्ठलाई, जेयुन किमले पेमा नोर्बुलाई, प्रितम परियारले उमिद शेर्पालाई, सुरेन्द्र विकले अन्जोअ थिङलाई, विवेक मगरले देव आशिषलाई पराजित गरे । त्यसैगरि आशव सम्राट हाडाले सुमन थारुलाई, दर्शिल श्रेष्ठले निश्चल कायस्थलाई, उगेन शेर्पाले मनोज महर्जनलाई, प्रकाश गुरुङले सुमन त्रिपाठीलाई, सोमज श्रेष्ठले पासाङ शेर्पालाई पराजित गर्नुभयो ।

४५ वर्ष माथिको मेन्स सिङ्गलमा शरण गुरुङले बलराम सापकोटालाई, निरज थापाले नारायण पहरीलाई, भीष्मराज पौडेलले सुनिल श्रेष्ठलाई, सेजार गुरुङले विकास गुरुङलाई पराजित गर्नुभयो । ४५ वर्ष माथिको डबल्समा गोपीबहादुर भट्टराई र धरमसिंह लामिछानेको जोडीले केवी तामाङ र विरेन लामाको जोडीलाई पराजित गर्नुभयो ।

५५ वर्ष माथिको एकलमा जितेन्द्र प्रधानले हेमचन्द्र गुरुङलाई, करिमुल्ला मुस्लिमले नवाङ लामालाई, जितेन्द्र खड्काले सुरेन्द्र माकाजुलाई पराजित गर्नुभयो । ५५ वर्ष माथिकै डबल्सतर्फ अनु जोन र मनु त्रिपाठीको जोडीले प्रकाश बस्नेत र मनोज नेपालको जोडीलाई तथा देव क्षेत्री र हिमाल शाहको जोडीले यज्ञबहादुर भण्डारी र अमृत गुरुङको जोडीमाथि जित निकाल्दै दोस्रो चरणमा प्रवेश गर्नुभएको छ ।

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्