रवि र बालेन मिलेपछि काठमाडौंमा मेयरको उम्मेदवार हरिशरण ?
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेका दाइ हरिशरण लामिछानेले आउँदो स्थानीय तह निर्वाचनमा आफू काठमाडौं महानगरपालिकाको मेयर पदको उमेदवार बन्ने प्रबल सम्भावना रहेको बताएका छन् ।
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले काठमाडौंको स्वतन्त्र मेयर उम्मेदवार बन्ने चाहना व्यक्त गरेका हुन् ।
आफ्नो पोस्टमा उनले रवि र काठमाडौंका मेयर बालेन्द्र शाहबीच भएको ‘बृहत् एकता’को सहमतिप्रति खुसी व्यक्त गरे । रवि र बालेनले हात मिलाइरहेको फोटोसहितको पोस्टमा उनले ‘दुई भाइको सम्झौताप्रति सम्मान’ भनेका छन् ।
‘दुई भाइको सम्झौताप्रति सम्मान र खुसी व्यक्त गर्दै काठमाडौं महानगरपालिकाको भावी मेयर पदमा मेरो ‘स्वतन्त्र उमेदवारी’ रहने प्रबल सम्भावना रहेको जानकारी गराउँदछु,’ उनले लेखेका छन् ।
प्रकाशित मिति: १३ पुस २०८२, आइतबार
















