बीच सडकमा ग्यास बुलेट पल्टिदा पूर्व–पश्चिम राजमार्ग बन्द
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा एलपी ग्यास बोकेको बुलेट दुर्घटना हुँदा सो क्षेत्रमा सवारी साधन सञ्चालन पूर्ण रूपमा रोकिएको छ।
मंगलबार बिहान ७ बजेर ५० मिनेटको समयमा पूर्वतर्फबाट आउँदै गरेको यूपी १७ ए २१४ नम्बरको एलपी ग्यास बुलेट दुर्घटनामा परेको हो। दुर्घटनापछि बुलेट सडकमै तर्सो अवस्थामा पल्टिएको छ। दुर्घटनामा चालक सामान्य घाइते भएका छन्।
दुर्घटनापछि बुलेटबाट ग्यास लिक भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सो सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीले यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
ग्यास लिकका कारण आगलागी हुन सक्ने जोखिम रहेकाले दमकल र बुलेट उठाउन क्रेनसमेत घटनास्थलमा झिकाइएको प्रहरीले जनाएको छ। मानव बस्ती नभएको जंगल क्षेत्रमा दुर्घटना भएकाले सहज भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार
















