जहाँतहीँ मुद्दा हाल्ने काम लोकतन्त्रले गर्दैन : रवि लामिछाने



पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जहाँतहीँ मुद्दा हाल्ने र व्यक्तिलाई दुःख दिने काम लोकतान्त्रिक चरित्र नभएको बताएका छन् ।

बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले आफूविरुद्ध पूर्ववर्ती सरकारले प्रतिशोध साँधेको जिकिर गरेका हुन् ।

‘जताततै मुद्दा हाल्ने, कतै पनि झुन्ड्याउने यस्ता चिजहरू लोकतन्त्रले गर्दैन,’ लामिछानेले भने, ‘यो लोकतन्त्रले गरेको होइन।’ लामिछाने सहकारी ठगी सम्बन्धी मुद्दामा तारिख बुझ्नका लागि बुधबार नै पोखरा पुगेका थिए ।

सभापति लामिछानेले आफ्नो पार्टीको सामर्थ्य पुगेपछि पहिलो प्राथमिकता अहिलेकै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाभित्र रहेर सुशासन कायम गर्नु हुने बताए। उनले अहिले राज्यका विभिन्न निकायहरूलाई पार्टीको भर्ती केन्द्र बनाइएको र सुशासनको पक्ष कमजोर रहेको भन्दै पहिला यसलाई सुधार्नुपर्नेमा जोड दिए।

‘हाम्रो सामर्थ्य पुगेपछि गर्ने भनेको सबैभन्दा पहिलो चिज यही व्यवस्थाभित्र यसलाई बदनाम गराउने कुराहरू र कुशासनका कुराहरू सुधार्ने हो,’ उनले थपे, ‘प्राथमिकता मलाई सोध्नुहुन्छ भने अवस्था परिवर्तन पहिलो प्राथमिकता हो ।’
शासकीय स्वरूप र संविधान संशोधनको विषयमा भने उनले ‘नेक्स्ट स्टेप’ मा बृहत् संवाद आवश्यक रहेको औँल्याए। संविधानमा रहेका कमी–कमजोरीहरूलाई आवश्यकता र अनुभवका आधारमा सुधार गर्दै लैजान सकिने उनको भनाइ छ। उनले शासकीय स्वरूपबारे पार्टीको आफ्नै धारणा भए पनि अहिलेको मुख्य जोड नागरिकको अवस्था परिवर्तनमै रहेको स्पष्ट पारे ।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्