विभाजनको पक्षमा नरहेको स्पष्ट पार्दै कांग्रेस नेताहरुले भने–१० दिन भित्र विशेष महाधिवेशन हुनैपर्छ
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस १० दिनभित्र विशेष महाधिवेशन गर्न माग गरेको छ ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशन पक्षधरका नेताहरुले पुस २७ र २८ गते नै विशेष महाधिवेशन गर्न माग गरेका हुन् ।
पूर्वनिर्धारित कार्यतालिका अनुसार नियमित महाधिवेशन हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने तयारीमा छन् । त्यसका लागि काठमाडौंको भृकुटीमण्डपको हल बुक पनि गरिसकेको समाचारहरु बाहिरिएका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगितको घोषणा गरेर विकल्पको रूपमा विशेष महाधिवेशनको बाटो अघि सारेपछि विशेष महाधिवेशन पक्षधरले यस्तो माग गरेका हुन् ।
जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा अहिलेकै नीति र नेतृत्वमा आगामी निर्वाचनमा जान नसकिने भन्दै उनीहरुले विशेष महाधिवेशनको माग गर्दै आएका छन् ।
पत्रकार सम्मेलनमा नेता देवराज चालिसेले नियमित महाधिवेशन हुन नसकेकाले अब विशेष महाधिवेशनको विकल्प नभएको बताए । उनले भने–‘नेपाली कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी रहेन ।’
नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेको भन्दै नेता सुवास पोखरेलले विधान अनुसार निर्णय लिन आग्रह गरे । उनले आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको पनि प्रष्ट पारे ।
उनले भने–‘हामीलाई विश्वास छ– पुस २७–२८ मा विशेष महाधिवेशन गर्ने जिम्मेवारी केन्द्रले पुरा गर्नेछ । हामी स्पष्ट गर्न चाहान्छौंयो माग कसैको जित र हारको रूपमा नलिई पार्टीको एकता कायम राख तथा पार्टीको आन्तरिक लोकतन्त्र जोगाउँदै जनताप्रति जवाफदेही बन्ने अवसरको रूपमा ग्रहण गरी नेपाली कांग्रेसलाई नयाँ ऊर्जा, एकता र दिशासहित अघि बढाउन पार्टी नेतृत्वसमक्ष विनम्रतापूर्वक अनुरोध पनि गर्दछौं।’
उनले अब विशेष महाधिवेशन छनोटको विषय नरहेको पनि बताए।
‘हामीले कार्यतालिका सार्वजनिक हुँदै स्पष्ट चेतावनी दिएका थियौुं घोषित समयमा महाधिवेशन नगरी मिति सार्ने कुनै सुविधा हुने छैन। यस्तो अवस्थामा असोज २९ मा दर्ता भएको विशेष महाधिवेशनको माग जीवित रहने छ र सोको कार्यान्वयन गर्नु पार्टीको अनिवार्य कर्तव्य बन्नेछ ।’ पोखरेलले भने।
प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार







