कांग्रेस संस्थापन पक्षको देउवापछि महामन्त्रीद्वय थापा र शर्मासंग भेट, के भयो कुराकानी ?
काठमाडौं । नेपाली कांग्रेसका संस्थापन समूहका २५ केन्द्रीय सदस्यहरुले सभापति शेरबहादुर देउवापछि महामन्त्रीद्वयलाई समेत भेटेका छन्।
बिहान सभापति देउवासँग भेटेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई समेत भेट गरेका हुन् ।
भेटका क्रममा विशेष महाधिवेशनका नाममा पार्टी विभाजनको गतिमा जान नहुनेमा स्पष्ट पारेका थिए । विशेष महाधिवेशनका नाममा पार्टी कतै थप कमजोर त बन्ने होइन भन्ने विषयमा आफूहरुले महामन्त्रीद्वयको ध्यानाकर्षण गराएको भेटघाटमा उपस्थित केन्द्रीय सदस्य डा. डिला संग्रौलाले बताइन् ।
उनका अनुसार महामन्त्रीद्वयले विधानको व्यवस्था अनुसार नै आफूहरुले विशेष महाधिवेशन गर्न लागेको बताउँदै पार्टीलाई हुनसक्ने क्षतिबारे आफूहरु सचेत रहेको बताइएको संग्रौलाको भनाइ रहेको छ ।
भेटमा केन्द्रीय सदस्यहरूसँग महामन्त्री थापाले पार्टी नेतृत्व र संस्थापनले आफूहरूसँग समन्वय नगरी आफ्नो गुटमा छलफल गरेर त्यसैका आधारमा निर्णय गर्ने गरेको गुनासो गरेका थिए ।
मङ्सिर १५ गते १५औँ महाधिवेशनका सन्दर्भमा केन्द्रीय समितिले गरेको निर्णय कार्यतालिका अनुसार अगाडि नबढेपछि महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशनको प्रक्रिया बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै स्थगित गरिदिएका थिए।
त्यसपछि कांग्रेसमा महाधिवेशन विवाद चर्किएको छ । त्यही विवाद समाधानका लागि केन्द्रीय सदस्यहरूले दुवै पक्षका नेताहरूलाई भेटेका हुन्।
यसअघि देउवाले आफू निकट २५ केन्द्रीय सदस्यसँगको भेटमा विशेष महाधिवेशनको मागका कारण पार्टी फुट्ने अवस्था आउन नदिने र संवादमार्फत निकास निकाल्ने प्रयास गरिरहेको बताएका थिए ।
महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाएसँगै कांग्रेसले आज दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार
















