महाधिवेशन विवाद: कांग्रेसले बोलायो पदाधिकारी बैठक



काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक आह्वान गरेको छ ।

शुक्रबार कार्यसम्पादन समिति बैठकले आगामी वैशाख देखि महाधिवेशन गर्ने निर्णय गरेपछि देखिएको विवाद समाधानका लागि आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बोलाइएको हो ।

पुस २६ देखि २८ गतेसम्म तोकिएको पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका अनुसार काम नभएपछि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले महाधिवेशनको मिति सारेर वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय बहुमतले गरेको थियो ।

उक्त निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले असन्तुष्टि राखेका छन् । उनीहरुले पुस मसान्तभित्रै पार्टीको विशेष महाधिवेशन गरेरै छोड्ने अडान लिएका छन् ।

कांग्रेसका २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए । कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएको ३ महिनामा विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था छ ।

त्यसै अनुरुप विशेष महाधिवेशन बोलाउनु पर्ने महामन्त्रीद्वयको भनाइ छ ।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्