एमाले नेता बृजेशकुमार गुप्ताले छाडे पार्टी
कपिलवस्तु । नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य बृजेशकुमार गुप्ताले एमाले छाडेका छन् ।
सोमबार सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले सो कुरा उल्लेख गरेका हुन् ।
कपिलवस्तुबाट चारपटक संघीय सांसद समेत जितेका गुप्ताले गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले युवा विद्यार्थीको सुशासन लगायतका जायज मागलाई नजर अन्दाज गरेर आन्दोलनमा दमन गरेको, दुई ठूला दल मिलेर जे गरेपनि हुन्छ भन्ने दम्भ देखाएको र एमाले नेतृत्व सुध्रिने लक्षण नदेखेको’ लगायतका कारण पेस गरेका छन् ।
पूर्वसंघीय मन्त्रीसमेत रहेका गुप्ताले एमालेको नेतृत्वको मुख्य ध्यान नै भ्रष्टाचारलाई संरक्षण गर्ने देखिएको आरोपसमेत लगाउँदै भनेका छन्- ‘पार्टी नेतृत्वको ध्यान, गतिविधि, संस्कार भ्रष्टाचार गर्ने र भ्रष्टाचारी जोगाउने तर सुशासन नदिने देखिया त्यसैले पार्टी छाड्न बाध्य भएँ, नेतृत्वमा राम्रा कामको जस लिने तर गल्ती कमजोरी कहिल्यै नस्विकार्ने पटक-पटक देखियो अनि राजीनामा दिएको हुँ ।’
उनले अब आफू कुन दलमा जाने भनेर आफ्नो क्षेत्रका मतदाता र शुभेच्छुकसँग सल्लाह गरिरहेको बताए ।
गुप्ताले २०५६ र २०७४ मा प्रतिनिधि सभा सदस्य तथा २०६४ र २०७० मा दुईपटक संविधान सभा सदस्यमा जितेका थिए ।
प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार
















