विशेष महाधिवेशन पक्षधरले घेरे काँग्रेस केन्द्रीय कार्यालय



काठमाडौं । नेपाली काँग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन् ।

५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएको तीन महिना पुग्न लाग्दा पनि केन्द्रीय नेतृत्वले टारेको भन्दै पक्षधरहरू आक्रोशित भएका हुन् ।

उनीहरुले विशेष महाधिवेशन पुसमै गर्ने भन्दै केन्द्रीय कार्यालय घेरेर नारा समेत लगाएका थिए ।

पार्टीको नियमित १५ औँ महाधिवेशनको कार्यतालिका असफल भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वले विशेष महाधिवेशनको तयारी तीव्र पारेको छ । जसका लागि भृकुटीमण्डपमा हल बुकिङ गरेर पुस मसान्तमा विशेष महाधिवेशन गर्ने तयारी गरेका छन् ।

यता संस्थापन पक्षले अहिले विशेष महाधिवेशन गरे चुनावमा असर पर्ने भन्दै नियमित महाधिवेशनलाई वैशाखमा सारेर अघि बढ्ने निर्णय गरेको छ ।

कांग्रेसभित्रको यो आन्तरिक विवाद मिलाउन छलफल जारी रहे पनि सहमति जुट्न सकेको छैन।

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्