गगन थापा भन्छन्- विधानलाई बेवास्ता गर्दै संख्याको दम्भमा हामी दुई महामन्त्रीहरूमाथि प्रहार गर्ने काम हुँदैछ
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माविरुद्ध योजनाबद्ध घेराबन्दी भइरहेको आरोप लगाएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले पछिल्लो समय नेपाली कांग्रेसमा प्रक्रिया र विधानलाई बेवास्ता गर्दै संख्याको दम्भमा महामन्त्रीहरूमाथि प्रहार भइरहेको बताएका हुन् ।
महामन्त्री थापाले भने- ‘पार्टीभित्र पछिल्लो समयमा प्रक्रिया र विधान निल्दै जाने क्रममा म र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई महामन्त्रीको हैसियतमा आफ्नो भूमिका निर्वाह गरिरहँदा कर्नर गर्ने, घेराबन्दी गर्ने र यसका विरुद्ध सबै मिल्ने काम भएको छ।’
उनले पार्टी कार्यालयभित्रको घेराबन्दी सानो भए पनि आम कार्यकर्ता, समर्थक र शुभेच्छुकको घेरा ठुलो रहेको उल्लेख गरे ।
महामन्त्री थापाले संख्याको आधारमा दम्भ देखाउँदै पार्टीका महामन्त्रीहरूमाथि दबाब सिर्जना गरिएको भन्दै यसबारे आम कार्यकर्ता र नागरिकले छिनोफानो गर्ने विश्वास व्यक्त गरे ।
प्रकाशित मिति: २३ पुस २०८२, बुधबार
















