विशेष महाधिवेशन अहिलेको आवश्यकता होइन : सिटौला



काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन अहिलेको आवश्यकता नभएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा बसेको कांग्रेस संस्थापन पक्षको भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै सिटौलाले केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयन गर्नु नै पार्टीका लागि हित हुने बताए ।

उनले भने–‘विशेष महाधिवेशन अहिलेको आवश्यकता होइन । पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयन गर्नुपर्छ ।’

अहिले पार्टीका नेताहरूकाबीचमा प्रतिष्पर्धा गर्ने बेला नभइ निर्वाचनमा पार्टी एकताबद्ध भएर जाने बेला भएको उनले भनाई थियो । उनले आफूहरू पार्टी एकताको पक्षमा, समझदारीको पक्षमा, कार्य सम्पादन समितिले गरेको निर्णयको पक्षमा लागिरहने बताए ।

विशेष महाधिवेशनको पक्ष वा विपक्षमा कति छन् भन्ने अलग कुरा रहेको भन्दै सिटौलाले विशेष महाधिवेशन अहिलेको आवश्यकता नरहेको स्पष्ट पारे ।

निर्वाचनको तयारी गर्नुपर्ने बेला पार्टीभित्र भएको खैलाबैला उचित नभएको उनको भनाइ छ ।

यता, विशेष महाधिवेशन पक्षधरका नेताहरूले भने गत बुधबार नै पत्रकार सम्मेलन गरेर पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्