सुशासन र समृद्धिका लागि सिंहदरबारमा स्वजागरण
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा बुधबार ‘सुशासन र समृद्धिका लागि स्वजागरण’ कार्यक्रम सम्पन्न भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको कार्यक्रममा श्रद्धेय भानु गुरुदेवले ‘स्वजागरणदेखि समृद्धि’ विषयमा प्रशिक्षण दिदैँ व्यक्तिको आन्तरिक रूपान्तरणसँगै समाज र राष्ट्रको समृद्धि निर्माणका लागि स्वजागरण र आरोग्य पर्यटनलाई नेपालले प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपाल प्राचिनकालदेखि आरोग्य भूमि रहेको विभिन्न तथ्य राख्दै आरोग्य र आरोग्य पर्यटनको महत्त्व र सम्भावनाबारे प्रकाश पार्नुभयो । आरोग्य पर्यटनमार्फत देशले समृद्धि हासिल गर्ने बताउँदै नेपाललाई विश्व आरोग्यको केन्द्र बनाउनु पर्ने बताउनु भयो । यसका लागि आरोग्यलाई विद्यालय तथा विश्व विद्यालयका पाठ्यक्रममा समावेस गर्नुपर्ने, सरकारी तथा गैरसरकारी संस्थामा अनिवार्य अभ्यासमा लानुपर्ने, तालिम र विकासको व्यवस्था गर्नु पर्ने र निजी क्षेत्रलाई लगानीका लागि आरोग्य अकर्षित गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा प्रधानमन्त्री सुशिला कार्कीले स्वजागरण अभियानले नैतिकता, सदाचार र सेवाभावयुक्त जनशक्ति निर्माण गरी मुलुकमा सुशासन स्थापनामा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘स्वजागरण केवल आध्यात्मिक अभ्यास मात्र होइन, यसले व्यक्तिलाई आन्तरिक रूपमा खुसी र शान्त रहन सिकाउँछ भने बाह्य रूपमा जिम्मेवार, कर्तव्यनिष्ठ र समृद्ध समाज निर्माणमा सहयोग पु¥याउँछ ।’ उहाँले स्वस्थ, सिर्जनशील, सक्रिय, सकारात्मक, दक्ष, इमान्दार र कर्तव्यनिष्ठ जनशक्ति विकास गर्दै सुख, शान्ति, सुशासन र समृद्धि हाँसिलका लागि सबै सरकारी कार्यालय, निजी क्षेत्र र नागरिक समाजलाई स्वजागरण अभियानमा सरिक हुन आव्हानसमेत गर्नुभयो ।
कार्यक्रममा मुख्य सचिव सुमनराज अर्यालले स्वजागरण र आरोग्यताको भरपूर उपयोग गर्ने समय आएको बताउँदै सुशासन र समृद्धिका लागि सार्वजनिक प्रशासन, निजी क्षेत्र, शिक्षा र स्वास्थ्य क्षेत्र तथा परिवर्तनप्रति सचेत युवा पुस्ता सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा गुरुदेवले स्वजागरण ध्यान विधिको अभ्याससमेत गराउनु भएको थियो ।
सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको कार्यक्रममा विभिन्न मन्त्रालयका मन्त्रीहरू, नेपाली सेनाका प्रधान सेनापतिलगायत सुरक्षा निकायका उच्च अधिकारीहरू, मुख्य सचिव तथा सचिवहरू, विभागीय प्रमुखहरू, विश्व विद्यालयका पदाधिकारीहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो ।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार












