आधिकारिकताका लागि गगन थापा समूह आज निर्वाचन आयोग जाँदै



काठमाडौं, माघ १ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमिति पार्टीको आधिकारिकता खोज्दै आज निर्वाचन आयोग जाने भएको छ ।

सभापतिमा निर्वाचित भएपछि आज (बिहीबार) बिहान नेता कार्यकर्तालाई सम्बोधन गर्दै थापाले आधिकारिकताका लागि निर्वाचन आयोग जाने जानकारी दिएका हुन् ।

उनले यसअघि नै पनि आयोगमा विशेष महाधिवेशनको विषयमा आयोगमा जानकारी गराइसकेको बताए । निर्वाचन आयोग कुनै अवैध शक्तिको प्रभावमा नपर्ने भन्दै उनले आफू नेतृत्वको कार्यसमिति नै कांग्रेसको वैधानिक समिति भएको जिकिर गरे ।

गएराति विशेष महाधिवेशनले थापाको नेतृत्वमा सिंगो नयाँ कार्यसमिति चयन गरेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ मा दलले आफ्नो नाम, विधान, नियम, छाप, झन्डा वा चिह्नमा भएको परिवर्तन वा संशोधन, पदाधिकारीको हेरफेर र आयोगले तोकेबमोजिमका अन्य जानकारी ३० दिनभित्र आयोगलाई दिनुपर्ने उल्लेख छ ।

शेरबहादुर देउवा पक्षधरले भने बुधबार नै तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा तत्कालीन सहमहामन्त्री फरमुल्लाह मन्सुरमाथि अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासित गरेको छ । सो समूहलाई उनीहरुलाई काराबाही गरेको जानकारी निर्वाचन आयोगलाई समेत गराइसकेको छ ।

प्रकाशित मिति: १ माघ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्