चुनाव नै हुन नदिने चेतावनी दिएका रेशम चौधरीले दिए स्पष्टीकरण, के गर्ला निर्वाचन आयोगले ?
काठमाडौं । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीले निर्वाचन अधिकृत कार्यालय पुगेर स्पष्टीकरण दिएका छन्।
माघ ६ गते उम्मेदवारी दर्ता गरेका रेशमविरूद्ध माघ ७ गते उजुरी परेको थियो। आफूविरूद्ध उजुरी परेपछि उनी आज निर्वाचन अधिकृत कार्यालय पुगेर स्पष्टीकरण दिएका हुन् ।
उनले राष्ट्रपतिबाट संविधान बमोजिम आंशिक नभई पूरा माफी पाएको बताएका छन् । उनले आफूलाई माफी दिने पत्रमा समेत १९ जनालाई माफी दिइएको बताएका छन् ।
उनले भनेका छन्–‘हामीलाई अदालतबाट भएको कैद सजाय माफी दिइएको भनिएको छ । कैद सजाय माफी भएपछि पूरै सजाय माफी हो । आंशिक होइन । आंशिक माफीबाट आपराधिकता नमेटिने व्याख्या छ । मेरो माफीको पत्रमा बाँकी कैद माफी भन्ने नभई फैसला बमोजिम लागेको कैद सजाय माफी भन्ने शब्द परेकाले आंशिक नभई पूरा माफी हो ।’
रेशमको उम्मेदवारी निरन्तर रहने वा खारेज हुने भन्नेबारे आजै निर्णय आउने बताइएको छ । टीकापुर घटनासम्बन्धी मुद्दामा रेशमले सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका थिए।
तर प्रतिनिधि सभा निर्वाचन ऐनअनुसार जन्मकैद भएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन पाउँदैनन्। २०७९ को चुनावमा पनि रेशम बर्दीया क्षेत्र नम्बर २ बाट उम्मेदवार भएका थिए। त्यसबेला उनको उम्मेदवारी खारेज भएको थियो भने उनी त्यसबेला जेलमा थिए।
त्यसपछि उनका बुवा लालवीर चौधरी बर्दीया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार भएका थिए। पछि उनी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका थिए। लालवीर अहिले नाउपा नेपालमा छन्।
आफ्नी श्रीमतीसँगको टकरावका कारण पार्टी फुटाएर नाउपा नेपाल बनाएका चौधरीले आफू चुनावमा उठ्न नपाए निर्वाचन नै विथोल्ने भन्दै प्रतिक्रिया दिएका थिए । चौधरीले गत कार्तिकमा आफूसहित लक्ष्मण थारु र धनिराम चौधरीले चुनाव लड्न नपाए देशमा चुनाव नै हुन नसक्ने चेतावनी दिएका थिए ।
प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार
















