चिया उद्यमी भेट्दै प्रधानमन्त्री बालेन



काठमाडौँ। विभिन्न व्यवसायिक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् ।

भेटघाटमा चिया उद्योगीहरुले भोग्दै आएका समस्या र समाधानका उपायबारे छलफल हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनायो ।

प्रधानमन्त्री बालेनले हिजो मात्रै हस्तकला महासंघका प्रतिनिधिहरुसँग भेटघाट गरेका थिए । त्यसअघि उनले उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसायी महासंघ, फुटवेयर एसोसिएसन, सेयर लगानीकर्ता, तयारी पोसाक उद्योग संघ लगायतका प्रतिनिधिहरुसँग पनि भेटघाट गरेका थिए ।

तर यी छलफलहरुमा अर्थ मन्त्री र अन्य सम्बन्धित मन्त्रीहरुलाई भने सहभागी गराइएको थिएन ।

प्रधानमन्त्री बालेनले आज भने अर्गानिक एसोसिएसन अफ नेपाल, गोर्खा टिस्टेट, हिमालयन सांग्रिला चिया उद्योग, अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्री लगायतका अध्यक्ष तथा प्रतिनिधिहरुलाई भेटघाटमा बोलाएका छन् ।

नेपालको अधिकांश चिया भारत हुँदै तेस्रो मुलुकमा निर्यात हुने भएकाले भारतीय नीति, भन्सार प्रक्रिया वा बजार अवस्थाले नेपाली चियाको व्यापार प्रभावित हुने गरेको छ ।

भारतले लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रणालीका कारण हालै नेपाली चियाको निर्यात दुई महिनाजति अवरुद्ध भएको थियो । जसका कारण इलाम र झापाका दर्जनौं चिया उद्योग बन्द हुन पुगेका थिए । उद्योग बन्द हुँदा नेपालको चिया उद्योगमा निर्भर कामदारहरुसमेत प्रभावित भएका थिए । प्रधानमन्त्रीसँगको आजको भेटमा यस विषयमासमेत छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार