उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र वर्षाको सम्भावना
काठमाडौं, माघ ११ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ ।
आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । पूर्वी तथा मध्य तराई भूभागका केही स्थानमा बिहानीपख हुस्सु रहनेछ ।
त्यसैगरी, आज राति सुदूरपश्चिम प्रदेशलगायत पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: ११ माघ २०८२, आइतबार












