राष्ट्रिय सभा सदस्यको निर्वाचन आज, यी हुन् उम्मेद्वार



काठमाडौं, माघ ११ । राष्ट्रिय सभा सदस्यको निर्वाचन आज हुँदैछ । आज बिहान सात वटै प्रदेशमा मतदान केन्द्रमा आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ ।

निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ ।

कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा राष्ट्रियसभा सदस्य निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । नेकपाका उम्मेदवार हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न समयमै नआएपछि थापा निर्विरोध भएका थिए । यता एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन् । बाँकी १७ सदस्यका लागि आज निर्वाचन हुन लागेको हो ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्ष मतदाता हुन्छन्। राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहलाई १९ मतभार र प्रदेश सभा सदस्य तर्फ ५३ मतभार कायम गरिएको छ ।

केही प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख एवं अध्यक्ष, उपाध्यक्षले राजीनामा दिई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेकाले मतदाता नामावलीबाट उनीहरुको नाम हटाइएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये कांग्रेस र एमालेले भागवण्डा गरेर क्रमशः ९ र ८ सिटमा उम्मेदवारी दिएका छन् । बाँकी एउटा पदमा लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार महन्थ ठाकुरलाई समर्थन गरेका छन् ।

कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २÷२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २÷२ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुँदैछन् ।

भागवण्डा अनुसार कोशी प्रदेशमा कांग्रेसबाट सुनिलबहादुर थापा, एमालेबाट रोशनी मेचे र सोम पोर्तेल उम्मेदवार छन् । मधेश प्रदेशमा कांग्रेसका धमेन्द्र पासवान, रन्जित कर्ण र एमालेका रेखा झा उम्मेदवार छन् ।

बागमती प्रदेशमा कांग्रेसले गीता देवकोटा र एमालेले प्रेम दंगाललाई उम्मेदवार बनाएको छ । गण्डकी प्रदेशमा कांग्रेसबाट जगत तिमिल्सिना र एमालेबाट र सम्झना देवकोटा उम्मेदवार छन् । लुम्बिनी प्रदेशमा कांग्रेसबाट वासुदेव जंगली र चन्द्रबहादुर केसी, एमालेबाट रामकुमारी झाक्री उम्मेदवार छन् ।

कर्णाली प्रदेशमा कांग्रेसबाट ललितजंग शाही, एमालेबाट मिना रखाल, सुदूरपश्चिम प्रदेशमा कांग्रेसका खम्मबहादुर खाती र एमालेका लीला भण्डारी उम्मेदवार छन् ।

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्