झापामा कुष्ठरोगी थपिँदै, ६ महिनामा ५५ विरामी फेला



झापा, माघ १२ । झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी फेला परेका छन् ।

चालु आर्थिक वर्ष २०८२÷८३ को पुस मसान्तसम्म ५५ नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका कुष्ठरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए ।

उनका अनुसार जिल्लाका १५ वटा पालिकामध्ये सबैभन्दा धेरै दमक नगरपालिका र कचनकवल गाउँपालिकामा १२÷१२ नयाँ कुष्ठरोगी फेला परेका छन् ।

त्यस्तै, मेचीनगर नगरपालिकामा तीन जना, बुद्धशान्ति गाउँपालिकामा दुई जना, शिवसताक्षी नगरपालिकामा पाँच जना, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा दुई÷दुईजना, बाह्रदशी गाउँपालिका र बिर्तामोड नगरपालिकामा पाँच÷पाँच जना र भद्रपुर नगरपालिकामा चार जना नयाँ कुष्टरोगी फेला परेका छन् ।

चालु आर्थिक वर्षमा ५३ कुष्ठरोगीले उपचारसमेत पाएको फोकल पर्सन दासले बताए । पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा झापा जिल्लामा नयाँ कुष्ठरोगी फेला पर्ने सङ्ख्या बढ्दै गएको देखिन्छ ।

जिल्लामा यसअघि आर्थिक वर्ष २०७९–८० मा एक सय ५७, आव २०८०–८१ मा एक सय २१ र २०८०–८१ मा एक सय ४७ नयाँ कुष्ठरोगी फेला परेको कार्यालयले जनाएको छ ।

विश्वमा बर्सेनि झण्डै दुई लाख र नेपालमा बर्सेनि करिब दुई हजार पाँच सय नयाँ कुष्ठरोगी फेला पर्ने गरेको तथ्यांक छ ।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्