बारामा घरभित्रै छिरेर आमा-छोराको हत्या
काठमाडौँ, माघ १४। बाराको परवानीपुरमा आमा-छोराको हत्या भएको छ ।
परवानीपुर गाउँपालिका–१ स्थित रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान करिब ३ बजेतिर अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी आक्रमण गर्दा आमा र छोराको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त घटनामा मृतकका श्रीमान ५० वर्षीय जगरूप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी गम्भीर घाइते भएका छन् । घाइते दुवैको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
हत्या कसले र किन गरेको भन्ने विषयमा हालसम्म खुल्न नसकेको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १४ माघ २०८२, बुधबार












