बालेनको चुनावी अभियानका क्रममा बहोस् भएका सिटौलाको अवस्था चिन्ताजनक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को चुनावी अभियानमा सहभागी हुने क्रममा अछाममा अचानक बेहोस भएर ढलेका पत्रकार दिनेश सिटौलाको स्वास्थ्य अवस्था चिन्ताजनक हुन पुगेको छ ।
अचानक ढलेपछि काठमाडौं ल्याइएका चलचित्र पत्रकार संघ नेपालका निर्वतमान अध्यक्ष समेत रहेका ४४ वर्षीय सिटौलाको स्वास्थ्य अवस्था चिन्ताजनक हुन पुगेको हो ।
बालेन टिमका अनुसार शुक्रबार बिहान अछामस्थित रास्वपा नेता तथा अछाम– २ का प्रतिनिधिसभा उम्मेद्वार भुपदेव शाहकोे घरमा चिया पिउँदै गर्दा अचानक बेहोर भएर ढलेका थिए ।
अछाममा अचानक ढलेर बेहोस् भएपछि उनलाई स्थानीय जिल्ला अस्पताल पु¥याइएको थियो । सो अस्पतालका चिकित्सकले टाउकामा रगत जमेको पाइएकाले सुर्खेत अस्पताल लैजान रेफर गरेका थिए । स्थानीय जिल्ला अधिकारीले सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर मगाई उनलाई काठमाडौं पठाएका थिए ।
काठमाडौं ल्याई टोखास्थित ग्रायाण्डी अस्पतालमा भेन्टिलेटर कक्षमा उपचार भइरहेको ४४ वर्षीय उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकहरूले परिवारलाई जानकारी गराएका छन् । दिनेशलाई स्ट्रोक भएको पाइएको चिकित्सकले परिवारलाई जानकारी गराएका छन् ।
प्रकाशित मिति: १८ माघ २०८२, आइतबार












