झापामा निर्वाचन आचारसंहितामा कडाई, यस्ता गतिविधि गर्न नपाइने
काठमाडौँ, माघ १९ । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालबाट मतदाताको गोपनीयता भङ्ग गर्ने खालका गतिविधि नगर्न कडा निर्देशन दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रसाद प्रसाईँ र अञ्जन न्यौपानेले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।
‘कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ’ भन्दै प्रश्न सोधेर भिडियो वा सामग्री बनाउन रोक लगाइएको छ ।
केही अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले सर्वसाधारणलाई यस्ता प्रश्न गरी गोप्य मतदानको अधिकारमाथि हस्तक्षेप गरिरहेको गुनासो आएपछि प्रशासनले यस्तो कदम चालेको हो।
अनुगमन अधिकृत प्रसाईँका अनुसार मतदाताको गोपनीयता भङ्ग गर्ने वा गराउने यस्ता कार्य निर्वाचन आचारसंहिता २०८२ को दफा ४ (द) बमोजिम गम्भीर उल्लङ्घन मानिनेछ।
यदि कसैले प्रशासनको यो आग्रहलाई अटेर गरी आचारसंहिता उल्लङ्घन गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ। आगामी फागुन २१ को निर्वाचनलाई मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालयले अनुगमनलाई थप तीव्र बनाएको छ।
प्रकाशित मिति: १९ माघ २०८२, सोमबार












