कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’
महेन्द्रनगर, फागुन २४ । प्रतिनिधिसभा सदस्यअन्तर्गत कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘क्लिन स्वीप’ गरेको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार कञ्चनपुर १ मा २४ हजार ३३२ मतसहित रास्वपाका जनकसिंह धामी विजयी भएका छन् । सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बिना मगरले ११ हजार ११०, नेपाली कांग्रेसका उम्मेदवार गोपीप्रसाद उपाध्यायले आठ हजार ४६७ मत प्राप्त गरे ।
त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार तारा लामा तामाङले आठ हजार ८८ मत प्राप्त गरे । कञ्चनपुर १ मा कुल ६१ हजार ७४ मत खसेको थियो ।
त्यसैगरी कञ्चनपुर २ मा पनि रास्वपाका दीपकराज बोहरा भारी मतान्तरले विजयी भएका छन् । उनले ३३ हजार ९५२ मत प्राप्त गर्दै नेपाली कांग्रेसका नारायणप्रकाश साउँदलाई पराजित गरेका हुन् । साउदले १० हजार ८२७ मत प्राप्त गरे ।
त्यसैगरी एमालेका बचनबहादुर सिंह छ हजार ४१८ मत, नेपाली कम्युनिष्ट पार्टीका माधव पन्तले छ हजार ३३७ मत प्राप्त गरे। यहाँ कुल ६५ हजार ३४७ मत खसेको थियो ।
त्यसैगरी कञ्चनपुर ३ मा रास्वपा ज्ञानेन्द्रसिंह महता २७ हजार ११८ मत प्राप्त गरी विजयी भए । उनले कांग्रेसका उम्मेदवार हरिप्रसाद बोहरालाई पराजित गरे । बोहराले नौ हजार ४४३ मत प्राप्त गरे ।
त्यसैगरी यहाँ नेकपा एमालेका उम्मेदवार दीपकप्रकाश भट्टले सात हजार ५७५ मत प्राप्त गरे ।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार
















