आजको मौसम : केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं, फागुन २६ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र पूर्वी भूभाग नजिकको तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागलगायत लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा पनि हल्का वर्षा हुनेछ ।
त्यसैगरी, आज राति गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुनेछ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार
















