कैलालीमा फेरि अर्की महिला श्रीमानबाटै मारिइन्
धनगढी, फागुन २६ । कैलालीमा फेरि अर्की महिला श्रीमानबाटै मारिएकी छन् ।
जिल्लाको भजनी नगरपालिका–९ खुरुरियामा गोठमा मृत अवस्थामा फेला परेकी महिलाको श्रीमानबाटै हत्या भएको खुलेको हो ।
गत मंगलबार होलीको दिन बिहान स्थानीय ५५ वर्षका प्रेमलाल चौधरीको श्रीमती अन्दाजी ५० वर्षीया मानादेवी चौधरी आफ्नै घर नजिकै रहेको बाख्राको गोठमा मृत भेटिएकी थिइन् ।
शरीरमा चोटपटक लागेको अवस्थामा मृत भेटिएकी उनको उनकै श्रीमानले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले बताए ।
उनकाअनुसार आपसी विवादका क्रममा प्रेमलालले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् । आमाको हत्यापछि बुवाविरूद्व छोरा २८ वर्षीय मगरु चौधरीले कारवाहीको माग गर्दै कर्तव्य ज्यान शीर्षकमा जाहेरी दिएका छन् । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
केही दिन पहिले कैलालीको धनगढीमा पनि एक पुरुषले ३० वर्षीया श्रीमतीको हत्या गरेका थिए ।
प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार
















