निर्वाचन परिणाम चैत पहिलो साता राष्ट्रपतिसमक्ष पेस गरिने



काठमाडौँ, २६  फागुन  निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी गरेको छ ।

गोरखापत्र अनलाइनसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भन्नुभयो, “पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीको मत परिणाम आइसकेको छ । समानुपातिकतर्फको मतगणना कार्य पनि अन्तिम चरणमा पुगेको छ र सम्भवतः आजै सकिने छ । आयोगले आफ्नो तयारी पूरा गरेपछि चैत ५ देखि ७ गतेभित्र राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको अन्तिम प्रतिवेदन पेस गर्ने तयारीमा जुटेको छ ।”

 संवैधानिक प्रावधान र सरकार गठन प्रक्रिया

नेपालको संविधानको धारा ९३ (१) अनुसार प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ ।

संविधानको धारा ७६ बमोजिम राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । यदि कुनै पनि दलको स्पष्ट बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री नियुक्त गरिने संवैधानिक प्रावधान रहेको छ ।

आयोगले अन्तिम प्रतिवेदन पेस गरेसँगै नयाँ सांसदहरूको शपथ ग्रहण र संसदीय दलको नेता चयनका लागि राजनीतिक दलहरूलाई बाटो खुल्नेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ स्थानमा विजय हासिल गरेको छ भने समानुपातिकतर्फ पनि ५० लाखभन्दा बढी मत प्राप्त गरिसकेको छ । दुवैको परिणाम सार्वजनिक हुँदा (रास्वपा) लाई झण्डै दुई तिहाइको बहुमत प्राप्त हुने भएकाले एकल सरकार हुने निश्चित छ ।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्