यी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना



काठमाडौं, फागुन २७ । हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । जसले गर्दा अहिले पहाडी र हिमाली भागमा बादल लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो पनि लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पनि बादल लाग्नेछ ।

यसैगरी, हिमाली भूभागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा एवं हिमपातको सम्भावना छ ।

साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बादल लाग्नेछ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्