इनिशा विकका लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन



काठमाडौं । दलित अधिकारकर्मीहरूले देशभर दलित समुदायमाथि हुने हिंसा, बलात्कार तथा हत्या घटनाहरू दिनहुँ बढिरहेको भन्दै माइतीघरमा प्रदर्शन गरेका छन्।

बुधबार प्रदर्शनमा सहभागीहरूले दलित समुदायमाथि भइरहेको विभेद र हिंसाका घटनाहरू रोक्न सरकारसँग कडा कदम चाल्न माग गरेका छन्।

फागुन २३ गते बलात्कारपछि हत्या भएकी सुर्खेतकी १६ वर्षीया इनिशा विकको तस्बिर राख्दै उनीहरूले न्यायको माग गरेका हुन्।

फागुन २३ गते जिल्लाको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिसाको वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् ।

बेहोस फेला लगतै इनिसालाई प्रदेश अस्पताल कालागाउँमा पुर्‍याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

त्यसपछि कक्षा ११ मा अध्ययनरत इनिसाको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै आफन्तले २४ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए ।

उजुरीपछि सुर्खेत प्रहरीले २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि फागुन २४ गते अरु तीन जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

उनीहरूले दोषीमाथि कडा कारबाही गर्न तथा पीडित परिवारलाई न्याय र सुरक्षा सुनिश्चित गर्न समेत आग्रह गरेका छन्।

प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्