रवि र बालेनलाई पाकिस्तानका प्रधानमन्त्रीले बधाई दिदैँ भने- नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ



काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहलाई बधाई ज्ञापन गरेका छन् ।
बिहीबार शरीफले यहाँस्थित पाकिस्तानी राजदूतावास मार्फत पत्र पठाउँदै सिंगो रास्वपालाई हालै सम्पन्न आम निर्वाचनमा प्राप्त उल्लेखनीय सफलताका लागि बधाई दिएका हुन् ।

रवि र बालेनलाई दिएको बधाई सन्देशमा प्रधानमन्त्री शरीफले उक्त जनादेश नेपाली जनताले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको उल्लेख गरेका छन् ।

सन्देशमा उनले पाकिस्तान र नेपालबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन नवनिर्वाचित नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्न पाकिस्तान इच्छुक रहेको समेत पत्रमा उल्लेख छ ।

मंगलवार भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले पनि प्रतिनिधि सभा निर्वाचनमा बहुमत हासिल गरेको रास्वपाका सभापति रवि र वरिष्ठ नेता बालेनलाई बधाई दिएका थिए।

यसअघि सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपाका सभापति रवि र वरिष्ठ नेता बालेनलाई टेलिफोनमार्फत विजयका लागि बधाई दिएका थिए।

यही फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा पार्टी सभापति रवि चितवन(२ र प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बालेन झापा-५ बाट भारी मतले विजयी भएका छन्।

देशभरका १६५ क्षेत्रमध्ये रास्वपाले १२५ सिट जितेको छ भने समानुपातिकतर्फ पनि धेरै ठुलो मात्रामा मत प्राप्त गरेको छ।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्