मेयर चिरिबाबुसहितका जनप्रतिनिधि गगनको पक्षमा, सभापति पदबाट राजीनामा नदिन आग्रह



ललितपुर। ललितपुर जिल्लाबाट स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले सभापति गगनकुमार थापालाई सभापतिबाट राजीनामा नदिन आग्रह गरेका छन् ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन तथा महांकाल गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चन लगायतले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान जटिल राजनीतिक अवस्थामा थापाको नेतृत्व र अभिभावकत्व पार्टीका लागि अपरिहार्य रहेको बताएका हुन् ।

नेपाली कांग्रेसको गरिमामय इतिहास, वर्तमान राजनीतिक चुनौती, राष्ट्रियता र लोकतन्त्रको संरक्षणका साथै समसामयिक राजनीतिमा निर्वाह गर्नुपर्ने प्रभावकारी भूमिकाका लागि थापा योग्य व्यक्तित्व भएको विज्ञप्तिमा उल्लेख छ ।

जनप्रतिनिधिहरूले पछिल्लो समय चर्चामा आएको सभापतिको राजीनामाको विषयलाई पूर्णतः नकार्दै पार्टीको सुदृढीकरणका लागि नेतृत्वको निरन्तरताको खाँचो औँल्याएका छन् ।

विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापासहित पार्टीका अधिकांश पदाधिकारी फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि नैतिक जिम्मेवारीका आधारमा थापाले राजीनामा दिने वा नदिने विषयमा पार्टीभित्र बहस जारी छ।

यसअघि थापाले राजीनामाबारे छलफल भएको संकेत दिए पनि उपसभापति विश्वप्रकाश शर्मा ले त्यस्तो निर्णय आवश्यक नभएको धारणा सार्वजनिक भएको थियो।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्