बुद्ध एयरको एटीआर–७२ जहाजको बिदाइ
काठमाडौं। जहाजको पूर्ण क्षमता सञ्चालनपछि बुद्ध एयरको एटीआर–७२ जहाजको औपचारिक बिदाइ गरिएको छ ।
अधिकतम उडान क्षमता ७२,००० साइकल रहेको कल साइन ( 9N-AJO) एटीआर–७२ जहाजको बिहीबार बुद्ध एयरले बिदाइ गरेको हो ।
एटीआर–७२ जहाज २ जुलाई २०१० देखि व्यावसायिक उडानमा संलग्न थियो । १६ वर्षे उडान अवधिभर यस जहाजले २४ लाख ८२ हजार ७ सय बहत्तर जना यात्रु बोकेको थियो ।
यसको जहाजको अन्तिम उडान ९ मार्च २०२६ मा भैरहवाबाट–काठमाडौंसम्म गरिएको थियो ।
बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले यस जहाजले नेपालको हवाई यात्रालाई सुगम, कम खर्चिलो, वातावरणमैत्री बनाउन ठुलो योगदान दिएको बताएका छन् ।
‘यसले बुद्ध एयरको बजार बिस्तार तथा साख बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । हामीले एटीआर जहाजको पूर्ण आयु सञ्चालन गर्ने ऐतिहासिक कीर्तिमान पनि कायम गरेका छौँ,’ उनले भने।
यसअघि बुद्ध एयरले एटीआर–४२ जहाजलाई १० सेप्टेम्बर २०२४ मा पनि बिदाइ गरेको थियो ।
बुद्ध एयरले आन्तरिक रूपमा देशैभरि उडान भर्नुका साथै अन्तर्राष्ट्रियतर्फ भारतपनि उडान भरिरहेको छ ।
प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार
















