बैठकमा बोल्दाबोल्दै ढलेका एमाले नेता कृष्ण थापाको निधन



कास्की । नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधन भएको छ ।

कास्की जिल्ला ईन्चार्ज समेत रहेका थापा बिहीबार जिल्ला कमिटी बैठकमा बोल्ने क्रममा अचानक ढलेका थिए

बैठकस्थलमै अचेत भएपछि उनलाई उपचारका लागि पोखरास्थित मणिपाल अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

हृदयघातका कारण उनको निधन भएको अस्पताल प्रशासनले बताएको छ। अहिले उनको शव मणिपाल अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

२०५४ सालमा पोखराको मेयर निर्वाचित भएका थापा २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्य समेत भएका थिए । २०७९ मा भने उनी पोखराको मेयर पदको निर्वाचनमा पराजित भएका थिए ।

थापा यसपटक पनि फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनका क्रममा चर्चामा रहेका थिए । पार्टीले उनलाई कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरे पनि स्थानीय स्तरमा विरोध भएपछि अन्तिम समयमा उनको टिकट खोसिएको थियो ।

उनको स्थानमा एमालेले रश्मि आचार्यलाई उम्मेदवार बनाएको थियो ।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्