अबैध लागूऔषधसहित २१ जना पक्राउ



काठमाडौं । प्रहरीले देशका विभिन्न भागमा गरेको नियमित गस्तीका क्रममा अवैध लागूऔषधसहित २१ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौं, बर्दिया, कैलाली, सुनसरी, नवलपरासीपूर्व, दाङ, रुपन्देही र मकवानपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

अभियुक्तहरूबाट गाँजा, खैरो हिरोइन र चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधी प्रहरीले बरामद गरेको छ ।

कहाँ–कहाँबाट को–को परे पक्राउ ?

काठमाडौं

प्रहरीले काठमाडौं महानगरपालिका–३२ कोटेश्‍वरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० ग्राम ८ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ बेलबारी नगरपालिका–५ बस्ने २२ वर्षीय सरोज लावती र २२ वर्षीय सुगम कार्की रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यसैगरी काठमाडौं महानगरपालिका–६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित सोही महानगरपालिका–६ महांकाल बस्ने मोरङ घर भएका २८ वर्षीय सुजन स्याङ्बोलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी

धरान उपमहानगरपालिका–१३ फुस्रेबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्राम सहित संखुवासभा सिलिचोङ गाउँपालिका–४ बस्ने २० वर्षीय सन्दिप राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

त्यसैगरी, दुहबी नगरपालिका–९ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार ट्याब्लेट र स्पास्पेन ६ हजार ४ सय ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गढी गाउँपालिका–३ बस्ने ५४ वर्षीय पवन लाल थारू र इटहरी उपमहानगरपालिका–११ बस्ने ३३ वर्षीय महमद अवजल रहेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको को५ प ८०९७ नम्बर र को।११ प २९०१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

मकवानपुर

हेटौँडा उपमहानगरपालिका–१६ घ्याम्पेडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका–१६ घ्याम्पेडाँडा बस्ने ३८ वर्षीय हरि रानालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हटिया मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दाङ

तुलसीपुर उपमहानगरपालिका–११ जनवार चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय २० ट्याब्लेट र ट्रामाडोल ५८ ट्याब्लेट सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा शान्तीनगर गाउँपालिका–५ कासीपुर बस्ने २३ वर्षीय भिम बहादुर सुनार र सोही उपमहानगरपालिका–६ गिधनिया बस्ने २२ वर्षीय धन बहादुर विक रहेका छन् । प्रहरी चौकी उरहरी जसपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

त्यसैगरी, तुलसीपुर उपमहानगरपालिका–६ बनकट्टाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५५ ट्याब्लेट सहित सोही उपमहानगरपालिका–५ बसपार्क बस्ने २२ वर्षीय भुपेन्द्र श्रीस मगर समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

त्यस्तै लमही नगरपालिका–३ टिकुलीगढबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय माधव चौधरी समेत ४ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले माधवको घरमा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

बर्दिया

बढैयाताल गाउँपालिका–२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ८० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका–११ लोकनगर बस्ने २३ वर्षीय लक्षु विकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली

धनगढी उपमहानगरपालिका–२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत लखिमपुर खिरी पलिया बस्ने ३७ वर्षीय मनुवर अलि र ३९ वर्षीय महम्मद असरफ अली रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

नवलपरासी पूर्व

कावासोती नगरपालिका–१६ चालिसकिलोबाट नियन्त्रित लागूऔषध डाईजेपाम १९ एम्पुल, प्रोमेथाजाइन १९ एम्पुल र बुप्रेनोर्फिन १९ एम्पुल सहित धनकुटा सहिदभूमी गाउँपालिका–४ बस्ने २४ वर्षीय प्रज्वल राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको बा।२ ख ३३३ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

रूपन्देही

सियारी गाउँपालिका–२ सेमराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम र नगद ३२ हजार रूपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मायादेवी गाउँपालिका–३ कमहरिया बस्ने ३२ वर्षीय अमेरिका केवट र सोही गाउँपालिका–२ कलीकमहवा बस्ने २९ वर्षीय भान प्रकास मल्लाह रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले लु ६२ प ८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्