इनिसा मृत्यु प्रकरण : न्यायका लागि विद्यार्थी सडकमा



सुर्खेत । बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि उनी अध्ययनरत विद्यालयका विद्यार्थीहरुले सडक प्रदर्शन गरेका छन् ।

इनिसा वीरेन्द्रनगरको उषा बालबाटिकामा अध्ययनरत थिइन् । गुर्भाकोट नगरपालिका– ६ बडाखोली स्थायी घर भएकी इनिसा शनिबार बिहान वीरेन्द्रनगर नगरपालिका—४, को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् ।

प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्‍याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । उनको शव अहिले अस्पतालमै छ । हाल वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् ।

शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनको सामूहिक बलात्कारपछि हत्या भएको आरोप परिवारको छ । प्रहरीले घटना घटेकै दिन फागुन २३ गते शनिबार घटनास्थलबाटै १६ वर्षीय बालकलाई नियन्त्रणमा लिएको थियो । जुन व्यक्तिले इनिसासँग आफ्नो प्रेम सम्बन्ध रहेको बताएका छन् ।

पीडित पक्षले फागुन २४ गते उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अन्य १५, १६ र १७ वर्षीय बालकहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए ।

अभियुक्त भनिएकाहरू पनि उषा बालबाटिकामै अध्ययनरत विद्यार्थीहरू हुन् ।

प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्