सांसद महावीर पुनलाई दुर्व्यवहार गर्ने विकास गुरुङ हिरासतमुक्त
पोखरा । पोखराको पृथ्वी चोकमा किताब बिक्री गरिरहेका प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनसँग भनाभन गर्दै अभद्र व्यवहार गरेको आरोपमा पक्राउ पर्नु भएको विकास गुरुङ हिरासतमुक्त भएका छन् ।
सांसद पुनबाट औपचारिक उजुरी नआएको तथा मुद्दा अघि बढाउने इच्छा नदेखिएपछि सोधपुछपछि गुरुङलाई छाडिएको कास्की प्रहरीले जनाएको छ ।
पृथ्वी चोकमा सार्वजनिक रूपमा सांसदसँग अभद्र व्यवहार भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाबारे अनुसन्धानका लागि गुरुङलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले बताउनु भयो । तर पुनका तर्फबाट कुनै जाहेरी नपरेको र आफन्तले पनि कारबाहीको माग नगरेपछि सोधपुछ गरी उहाँलाई मुक्त गरिएको उहाँले जनाउनु भयो ।
“ठाडो निवेदनका आधारमा अनुसन्धानका लागि विकासलाई बोलाइएको थियो। फोन सम्पर्क गर्दा उपस्थित नभएपछि नियन्त्रणमा लिइएको हो,” बस्नेतले भन्नुभयो “आज सोधपुछ तथा घटनाबारे अनुसन्धानपछि उहाँलाई छाडिएको छ ।” गुरुङले पनि आफ्नो गल्ती महसुस गरेको बताएपछि उहाँलाई छाडिएको प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका–१३ बाँझापाटनका ४३ वर्षीय विकास गुरुङले पृथ्वी चोकमा पुस्तक बिक्री गरिरहेका पुनसँग “सांसदको काम किताब बेच्ने हो, तपाईँलाई हामीले प्रश्न गर्न नपाइने” भन्ने प्रश्न गरेको र त्यसक्रममा आफूलाई रिस उठेर बोल्दा विवाद बढेको बताउनु भएको छ ।
फागुन २५ गते पृथ्वी चोकमा पुनले आफ्नो आत्मकथामा आधारित “महावीर पुनः सम्झना, सपना र अविरल यात्रा” नामक पुस्तक बिक्री गरिरहेका बेला गुरुङसँग भनाभन भएको थियो। यसअघि अनुसन्धानका क्रममा गुरुङ तीन पटक लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परिसकेको प्रहरी अभिलेखमा उल्लेख छ ।
डा. पुनले राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन तथा वीरगञ्ज कृषि औजार कारखाना सुधारका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले देशका विभिन्न शहरमा पुगेर आफ्नो जीवन कथामा आधारित पुस्तक बिक्री अभियान सञ्चालन गर्दै आउनु भएको छ । पोखरामा मात्रै तीन दिनमा करिब २२ लाख रुपैयाँ बराबरको पुस्तक बिक्री भएको उहाँले जनाउनु भयो ।
पुस्तक बिक्रीबाट सङ्कलित रकम राष्ट्रिय आविष्कार केन्द्र तथा कृषि औजार कारखाना सञ्चालनमा प्रयोग गरिने पुनले जनाउनु भएको हो । पुस्तक बिक्री अभियानबाट २० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको र हालसम्म करिब १२ करोड २२ लाख रुपैयाँ सङ्कलन भइसकेको उहाँले जनाउनु भयो ।
प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार
















