बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ युवक १० दिनदेखि सम्पर्कविहीन, खोजीमा सेना र प्रहरी



बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ युवक झन्डै १० दिनदेखि सम्पर्कविहीन भएका छन् ।

सम्पर्कविहीन हुनेमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका–८ गंगटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन् ।

गएको २३ फागुनमा सिकार खेल्न भन्दै १७ किलोमिटर दक्षिणमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा गएका उनीहरू त्यसयता परिवारको सम्पर्कमा आएका छैनन् ।

सम्पर्कमा नआएपछि आइतबार उनीहरूका परिवारजनले मात्र यस विषयमा प्रहरीलाई जानकारी दिएका छन् ।

घर नफर्किएपछि खोजबिनका लागि प्रहरीमा खबर आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सम्पर्कविहीन भएकाहरूको खोजीका लागि राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र प्रहरी चौकी रानीघाटसँग समन्वय गरिएको प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्