इनिशा विकको न्यायका लागि आज पनि माइतीघरमा प्रदर्शन



काठमाडौं । इनिशा विकलाई न्याय दिनुपर्ने माग गर्दै माइतीघरमा आज पनि विरोध प्रदर्शन भएको छ ।

फागुन २३ गते बलात्कारपछि हत्या भएकी सुर्खेतकी १६ वर्षीया इनिशा विकको तस्बिर राख्दै युवा, विद्यार्थी, अधिकारकर्मी तथा सर्वसाधारणहरुले प्रदर्शन गरेका हुन् ।

ईनिशा विकको न्यायका लागि भन्दै दिनहुँजसो माइतीघरमा विरोध प्रदर्शन भइरहेको छ ।

प्रदर्शनकारीहरूले ‘ईनिशा विकलाई न्याय दे’, ‘दोषीलाई उम्काउन पाइँदैन’, ‘महिला हिंसा अन्त्य गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

फागुन २३ गते जिल्लाको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिसाको वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् ।

बेहोस फेला लगतै इनिसालाई प्रदेश अस्पताल कालागाउँमा पुर्‍याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

त्यसपछि कक्षा ११ मा अध्ययनरत इनिसाको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै आफन्तले २४ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए ।

उजुरीपछि सुर्खेत प्रहरीले २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि फागुन २४ गते अरु तीन जनालाई पनि नियन्त्रणमा लिएको थियो ।

उक्त घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका चार जनामाथि जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हालसम्म परिवारजनले बालिकाको शव बुझेका छैनन् ।

प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्